उपभोक्ता आवाज

भाडावृद्धिबारे अन्तरक्रियासहित आन्दोलन जारी

काठमाडौं। सार्वजनिक यातायातमा गरिएको भाडा वृद्धिविरूद्ध नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घलगायत आन्दोलनरत एघार विद्यार्थी सङ्गठनले काठमाडौंको प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पसमा आइतबार विभिन्न उपभोक्ता मञ्चलगायत अन्य सरोकारवाला पक्षबीच अन्तरक्रिया गरे।
    अन्तरक्रिया कार्यक्रममा मानव अधिकार आयोगका पूर्वसदस्य सुदीप पाठकले विद्यार्थी आन्दोलनलाई जनतासँग प्रत्यक्ष सरोकार राख्ने हरेक विषयवस्तुमा गम्भीर भई व्यवस्थित र मर्यादित ढङ्गले अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो।
    उहाँले भन्नुभयो – सार्वजनिक यातायातमा गरिएको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि आकासिएको छ। पेट्रोलियम पदार्थमा मूल्यवृद्धि नहुँदै सार्वजनिक यातायातमा मूल्यवृद्धि गर्नु सरकारको गैरजिम्मेवारीपन हो।
    विद्यार्थी आन्दोलनलाई बन्द हड्तालभन्दा पनि रचनात्मक आन्दोलनमार्फत् जनताको हक, अधिकार सुनिश्चत गराउनुपर्ने कुरामा जोड दिंदै उहाँले अहिले देशको युवा जनशक्ति बढ्दो मात्रामा विदेशिने क्रम भएकोले युवाहरूलाई स्वदेशमै रोजगारीको सुनिश्चितता गराउनेतर्फ विद्यार्थी आन्दोलन केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो।
    उपभोक्ता हित संरक्षण मञ्चका सचिव रामचन्द्र सिंखडाले कमिसनको लोभमा परेर सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेकेा आरोप लगाउनुभयो। यातायात क्षेत्रमा निर्धारण गरिएको भाडा दर अवैज्ञानिक रहेको उहाँको दावी थियो।
    उहाँले भन्नुभयो –'विगतमा विद्यार्थी सङ्गठन र सरकारबीच विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने सम्झौता व्यवहारतः लागू भएको छैन। 
    तर यातायात व्यवसायीहरूले सरकारलाई तिर्नुपर्ने राजश्वमा ४५ प्रतिशत कट्टा गरेर तिरेका छन्। यातायातमा कायम रहेको सिन्डिकेटविरूद्ध विद्यार्थी आन्दोलन अगाडि बढाउनुपर्छ।' 
    नागरिक न्यायिक उपभोक्ता मञ्चका अध्यक्ष सहदेव गौतमले हरेक न्यायपूर्ण आन्दोलनमा विद्यार्थीहरूको उल्लेखनीय भूमिका रहेको बताउनुभयो।
    उहाँले नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति आईओसीबाहेक अर्को विकल्पको लागि सरकारलाई दबाब दिनुपर्छ भन्नुभयो।
    कार्यक्रम नेविसङ्घका अध्यक्ष रञ्जित कर्णको सभापतित्वमा भएको थियो।
    यसअघि सार्वजनिक यातायातका साधनमा सरकारले गरेको ९ प्रतिशत भाडावृद्धिविरुद्ध आन्दोलनरत एघार विद्यार्थी सङ्गठनहरूले नयाँ चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए।
    बिहीबार बागबजारस्थित अनेरास्ववियू (क्रान्तिकारी) को कार्यालयमा बसेको संयुक्त बैठकले भाडा वृद्धिविरूद्ध जारी आन्दोलनप्रति सरकार गैरजिम्मेवार भएको भन्दै खेद जनायो।
    घोषित कार्यक्रमअनुसार चैत २ गते जिल्ला जिल्लामा संयुक्त बैठक, चैत ३ गते देशव्यापी प्रचारप्रसार, चैत ४ गते उपभोक्ता सङ्घ–सङ्गठन एवं सरोकारवालाबीच अन्तरक्रिया र चैत ५ गते देशव्यापी कोणसभा हुनेछ।
    त्यस्तै चैत ७ गते यातायात व्यवसायीहरूसँग छलफल, चैत ८ गते सरकारी गाडी गुड्न नदिने र चैत ९ गते यातायात व्यवसायी महासङ्घ र व्यवसायी समितिका कार्यालयमा तालाबन्दीको घोषणा गरियो।
    विद्यार्थीहरूको बैठकले यथाशीघ्र स्ववियु निर्वाचन गर्न दबाब दिन चैत ६ गते त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय घेर्ने कार्यक्रमसमेत गरेको छ। चैत तेस्रो साता हुने भनिए तापनि स्ववियु निर्वाचन औपचारिक घोषणा गरिएको छैन। 
    बिहीबारको संयुक्त बैठकमा नेक्राविसङ्घलगायत बहुमत विद्यार्थी सङ्गठनहरूले प्रधानन्यायाधीशलाई कार्यपालिका प्रमुख बनाउने प्रक्रियाप्रति विरोधमा प्रस्ताव पारित गर्नुपर्ने मत व्यक्त गरे तापनि अनेरास्ववियू र नेविसङ्घका प्रतिनिधिहरूले तत्काल त्यस्तो प्रस्ताव पारित गर्न अस्वीकार गरेका 
थिए।          
    बैठकले भाडावृद्धिविरूद्ध पहिलो चरणको आन्दोलनको सकारात्मक मूल्याङ्कन गर्दै देशव्यापी विस्तार गर्नेमा जोड दिएको 
थियो।
    यसअघि सार्वजनिक यातायातमा सरकारले गरेको भाडावृद्धिविरूद्ध चालू विद्यार्थी आन्दोलनको क्रममा बुधबार बिहान ६ देखि १० बजेसम्म देशभर भाडा र सरकारी गाडीहरू ठप्प भए।
    एघार विद्यार्थी सङ्गठनको आह्वानमा सडकमा उत्रेका विद्यार्थीहरूले 'भाडा वृद्धि फिर्ता गर !' 'जनविरोधी सरकार मुर्दावाद !' आदि नारा लगाएका थिए।
    भक्तपुरको सूर्यविनायकमा आयोजित सभामा बोल्दै नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सचिव नीरज लवजूले विद्यार्थी आन्दोलनको उपेक्षा र अपमानको परिणाम नराम्रो हुने सरकारसँग हेक्का हुनुपर्ने बताउनुभयो।
    उहाँले विद्यार्थी सहुलियत ४५ बाट ५० प्रतिशत पुर्‍याएर देशभर कडाइका साथ कार्यान्वयन गर्न माग गर्नुभयो।
    कार्यक्रममा नेक्राविसङ्घ भक्तपुर जिल्ला समिति अध्यक्ष सुरेशन धुसूले पनि बोल्नुभएको थियो।
 

बाँकि उपभोक्ता आवाज


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी