स्वास्थ्य जानकारी

सन् २०५० सम्ममा क्षयरोग उन्मूलन देश बनाउने अभियान सुरू

नेपाल सरकारले सन् २०५० सम्ममा नेपाललाई क्षयरोग उन्मूलन राष्ट्र बनाउने भएको छ।  

राष्ट्रिय क्षयरोग केन्द्र र सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रका निर्देशक डा.काशीकान्त झाले यसबारे जानकारी दिँदै नेपाललाई क्षयरोग उन्मूलन देश बनाउने अभियान सुरू गरेको बताउनुभयो। 

राष्ट्रिय क्षयरोग केन्द्र थिमीले यसवर्ष 'क्षयरोग बिनाको संसार, मेरो जीवनमै गर्नुपर्छ साकार' भन्ने मूल नाराका साथ भोलि मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवसदेखि नै यो अभियान सुरू भएको उहाँले बताउनुभयो। नेपालमा हाल पहिचान भएका क्षयरोगीको निको हुने दर ९० प्रतिशत रहेको र यो विश्वमै उत्कृष्ट नतिजा भएकोले  विश्वका धेरै देशले नेपालको क्षयरोगको उपचार विधिलाई अनुसरण गरेको निर्देशक झाले बताउनुभयो।  

निर्देशक झाले भन्नुभयो– 'नेपालले सन् २०१५ मा पूरा गर्नुपर्ने सहश्राब्दी लक्ष्य अहिले नै हासिल गरिसकेका छ, अब सन् २०१५ सम्ममा सन् १९९० को तुलनामा ५० प्रतिशत क्षयरोग घटाउने लक्ष्य छ र सन् २०५० मा नेपाललाई क्षयरोगमुक्त देश बनाउने अभियानमा केन्द्र लागिसकेको छ, यसका लागि सबैको सहयोग आवश्यक छ।' उहाँका अनुसार नेपालमा आव २०६७/०६८ मा ४५ हजार क्षयरोगी पत्ता लागेकोमा ३५ हजार ९६४ जना क्षयरोगीको प्रत्यक्ष निगरानीमा गरिने डट्स उपचार पद्धतिबाट उपचार भइरहेको छ।  

झाले भन्नुभयो– 'खकारमा क्षयरोगका कीटाणु देखापरेका अर्थात् सर्ने खालको २० हजार ८८० जना क्षयरोगीको पहिचान भएकोमा हाल १५ हजार क्षयरोगी उपचारमा आएका छन्, पहिचान भएका नयाँ क्षयरोगीमा ९० प्रतिशतको रोग निको भएको छ, यो नेपालको लागि ठूलो उपलब्धी हो।' नेपालमा क्षयरोगका कारण मृत्यु हुने दरमा समेत कमी आएर हाल वार्षिक दुई दशमलव ४० प्रतिशतको मात्र मृत्यु हुने गरेको छ।   

केन्द्रले यसैवर्ष मुलुकका आठ जिल्लाका डट्स केन्द्रमा दुईघन्टाभित्र क्षयरोग पत्ता लगाउने जिन एक्सपोर्ट उपकरण नमुनाको रूपमा सञ्चालनमा ल्याएको छ। राष्ट्रिय क्षयरोग केन्द्र तथा अन्तर्राष्ट्रिय आप्रवासी सङ्घ नेपालको समन्वयमा विश्व स्वास्थ्य सङ्गठनको क्षयरोग रोकथाम साझेदारीअन्तर्गत टीबी रिच परियोजनाको सहयोगमा खकार परीक्षण गरेको दुईघन्टा भित्रै क्षयरोग पत्ता लगाउन सक्ने यो उपकरण जडान गरेको हो। 

यो उपकरण भक्तपुर, पर्सा, इलाम, भद्रपुर, मोरङ, धरान, राजविराज, सिरहा र उदयपुरमा जडान गरिएको छ भने यसलाई मुलुकभर विस्तार गर्ने योजना रहेको निर्देशक झाले बताउनुभयो।

बाँकि स्वास्थ्य जानकारी


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी