कृषक कुना

राज्यका सबै अङ्गमा मजदुर र किसानको प्रतिनिधित्व गराउन माग

नेपाल क्रान्तिकारी किसान सङ्घको दोस्रो केन्द्रीय परिषद् 
(२०६९ फागुन २९ र ३०) बाट पारित राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय प्रस्ताव
राष्ट्रिय प्रस्तावहरू
–    भू–स्वामित्व देशको एक प्रमुख समस्या भएकाले क्रान्तिकारी भूमिसुधार लागू गरी जोताहा किसानको स्वामित्व स्थापित गर्न जमिनको पुनर्वितरण गर्नुपर्ने यो परिषद् ठहर गर्दछ।
–     हरेक वर्ष समयमै रासायनिक मलको अभाव भई कृषि उत्पादनमा र्‍हास आएको कुराप्रति गम्भीर हुँदै रासायनिक मलको अभावलाई सदाको लागि अन्त्य गर्न स्वदेशमै गुणस्तरीय मल कारखाना स्थापना गर्न यो परिषद् पुनः जोड दिन्छ। साथै तत्कालको लागि विदेशबाट आयात गरिने मलमा पर्याप्त अनुदानको व्यवस्था गर्न यो परिषद् जोड दिन्छ।
– कृषकहरू कर्मशील हुन्छन्। सानै उमेरदेखि किसानहरूले कृषि उत्पादन र राष्ट्रिय आयमा गरेको भूमिकाको सम्मान गर्दै ५८ वर्ष उमेर पुगेका ज्येष्ठ किसानहरूलाई सम्मानको जीवन निर्वाहको लागि पुग्दो निर्वाह भत्ताको व्यवस्था गरी निःशुल्क आदर निकेतन र स्वास्थ्य उपचारको व्यवस्था गर्न यो परिषद् माग गर्दछ।
–    मोहियानी हकलाई अंश नलाग्ने, बेचविखन वा हस्तान्तरण गर्न नमिल्ने अस्थायी र अपूर्ण अधिकारको रुपमा परिभाषित गरिएको छ। मोही अधिकार जोतभोगको आधारमा प्राप्त अधिकार भएकोले पैतृक सम्पत्तिको रुपमा पूर्णता दिन कानुनी तथा संवैधानिक प्रत्याभूति गर्नुपर्ने ठहर गर्दछ।
–     देशमा चलेका विभिन्न आन्दोलन र परिवर्तनमा मजदुर र किसानहरूको भूमिकाको कदर गर्दै व्यवस्थापिका–संसदलगायत राज्यका सबै अङ्गमा मजदुर र किसानहरूको जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्व गराउन यो परिषद् माग 
गर्दछ।
–     कृषि उत्पादनबाहेक किसानहरूको जीवनको अन्य विकल्प हुने गर्दैन। बाढी, पहिरो, भू–क्षय, खडेरी तथा डुबानजस्ता प्राकृतिक प्रकोपबाट हरेक वर्ष किसानहरू पीडित हुने गरेका छन्। नक्कली मल, नक्कली बीउ–बिजनलगायत विभिन्न प्राकृतिक प्रकोपबाट पीडित किसानहरूलाई मालपोत मिनाहा गरी उचित क्षतिपूर्ति र राहत दिन माग गर्दछ। साथै नेमकिपाको कमैयाको मुक्ति धोका हो भन्ने नेमकिपाको ठम्याइ दस वर्षको अनुभवमा पूर्ण सत्य सावित भएको छ। तसर्थ हलिया मुक्ति पनि कमैया मुक्तिझैं धोखा हुने ठहर गर्दै मुक्त कमैया र मुक्त हलियालगायतका जोताहा किसानहरूलाई तिनीहरूले विगतमा जोत्दै आएको जग्गामा मोहियानी हक दिन यो परिषद् जोडदार माग गर्दछ।
अन्तर्राष्ट्रिय प्रस्तावहरू
१. अमेरिकी साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्दै आएका र विदेशी तेल कम्पनीहरू र भूमि राष्ट्रिकरण गरी सार्वभौमिकता र स्वाधीनता रक्षा गर्दै आएका विश्व साम्राज्यवादविरोधी आन्दोलनका एक योद्धा भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेजको असामयिक निधन भएकोमा यो परिषद् भेनेजुयाली जनताप्रति समवेदना व्यक्त गर्दछ।
२. अमेरिकी साम्राज्यवादले अन्तर्राष्ट्रिय आतङ्कवादलाई समाप्त गर्ने नाममा अफ्गानिस्तान, इराक र पाकिस्तानको विभिन्न भागमा मानवरहित ड्रोन आक्रमणको यो परिषद् कडा विरोध गर्दछ।
३. नेपालको सार्वभौमिकता, राजनीति, सरकार र प्रशासनमा भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद र युरोपेली सङ्घले क्रमशः हस्तक्षेप गर्दै आएकोमा यो परिषद् कडा विरोध गर्दछ।
४. सिरियाको बसार अल अस्सादको वैधानिक सरकारविरुद्ध प्रतिपक्षी दलहरूलाई अमेरिकी साम्राज्यवादले हतियारहरू उपलब्ध गराई देशलाई गृहयुद्धमा फसाइसकेको छ र हालसम्म सिरियामा सत्तरी हजार सिरियालीहरूको मृत्यु भइसकेको छ। यो परिषद् सिरियाको बसार अल अस्साद सरकारको समर्थन गर्दछ भन्ने अमेरिकी साम्राज्यवादले आन्दोलनको नाममा कट्टरपन्थी आतङ्कवादीहरूलाई हतियारहरू उपलब्ध गराएर देशलाई गृहयुद्धमा धकेलिरहेकोमा अमेरिकी साम्राज्यवादको कडा विरोध गर्दछ।
५. अमेरिकी साम्राज्यवादले समाजवादी मुलुक क्युवामाथि विगत ५५ वर्षदेखि गर्दै आएको नाकाबन्दी पनि यो परिषद् खेद व्यक्त गर्दछ साथै पाँच क्युवालीहरूको विनासर्त रिहाइको अपिल पनि गर्दछ।
६. अमेरिकी साम्राज्यवादले परमाणु शक्ति र परमाणु हतियार बनाएको नाममा इरान सरकारमाथि युद्धको धम्की दिंदै आएको छ। अमेरिकी सरकारको सो कदमको पनि यो परिषद् खेद व्यक्त गर्दछ।
७. अमेरिकी साम्राज्यवादले प्रजग कोरियामाथि लगाएको कडा नाकाबन्दी तथा दक्षिण कोरिया र अमेरिकी सेनाहरूबीच संयुक्त रुपमा गरेको संयुक्त सैनिक अभ्यासको पनि यो परिषद् कडा विरोध गर्दछ। साथै दक्षिण कोरियामा रहेको अमेरिकी सेनाहरू तत्काल फिर्ता लान पनि यो परिषद् माग गर्दछ।
 

बाँकि कृषक कुना


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी