एकक्षण

नाति–नातिनालाई हजुरबुबाको चिठी

क्रिश्चिना
नाति अमर र नातिना अमृता,
संरा अमेरिका
    तिमीहरूको ई–मेल प्राप्त भयो। धेरै दिनपछि तिमीहरूले एकैबाजि नेपालको राजनीतिबारे धेरै जिज्ञासा राख्यौ – ग्रायन्ड डिजाइन, मुख्य शत्रु, तराई आन्दोलन, सहमति आदि।
    तिमीहरूले भनेजस्तै ११ अक्टोबर २०१५ (२४ असोज २०७२) को दिन प्रजातन्त्रको ठेकेदार सम्भि्कएको नेपाली काङ्ग्रेसलाई एमालेले प्रधानमन्त्रीको निर्वाचनमा नराम्रोसँग पराजित गर्‍यो। यसको कारण तिमीहरूले सोध्यौ, यसको जवाफ तिमीहरूको अन्य जिज्ञासासँगै दिंदैछु।
    दोस्रो विश्वयुद्धको अन्त (१९४५) तिरै भारतीय स्वतन्त्रताको किरण पूर्वमा देखिसकिएको थियो। एकाधिकार पूँजीवादी देशहरूको गुटहरूको माझमा विश्वबजार कब्जा गर्ने प्रतिस्पर्धा हुँदै थियो र हिटलरको जर्मनी, मुसोलिनिको इटाली र टोजोको जापानी अति राष्ट्रवादी, जातिवादी वा फासिवादीहरूको विरोधमा बेलायत, फ्रान्स र अन्य साम्राज्यवादी देशहरू आपसमा भिडे। हिटलरको जर्मनीको अगाडि फ्रान्स टिक्न सकेन र संसारमाथि फासिवादी जर्मनीको हैकम चल्ने खतरा देखेर संरा अमेरिका र अन्य साम्राज्यवादी सरकारहरूले जर्मनीको हमलालाई कम्युनिष्ट रुससँग भिडाउने षड्यन्त्र गरे। सो षड्यन्त्रमा जर्मनी फस्यो र हिटलरले रुसमाथि हमला गर्‍यो। त्यसपछि सोभियत सङ्घ (तत्कालीन रुस), संरा अमेरिका र बेलायत मिलेर जर्मनी, इटाली र जापानको विरोधमा लड्ने एक सम्झौता गरे।
    साम्राज्यवादीहरू कमजोर हुँदै गएको र सोभियत सङ्घ र चीनमा कम्युनिष्ट आन्दोलन बलियो हुँदै गएको हुँदा बेलायती साम्राज्यवादले भारतले स्वतन्त्रता पाएपछि सत्तामा आउने भारतीय पूँजीपति र सामन्त वर्गलाई भारतमा उठ्दो साम्यवादी र मजदुर आन्दोलन दबाउन दिन षड्यन्त्र गर्दै गयो। साम्राज्यवादी शक्तिहरूले ध्वस्त भएको आफ्नो आर्थिक र सैनिक शक्तिले पुनःसङ्गठनको निम्ति पछि हट्ने नीति लिए र एसियामा भारतजस्तै अन्य मुलुकहरू र अफ्रिकी देशहरूलाई पनि एक–एक गरी स्वतन्त्रता प्रदान गरी साम्राज्यवादीहरूले एसियालीहरूलाई आपसमा लडाउने नीति लिए र आर्थिक र सांस्कृतिक रुपले भारत र अन्य मुलुकहरूमा आफ्नो हैकम कायम राखे।
    भारतले १९४७ मा स्वतन्त्रता प्राप्त गर्‍यो, भारत र पाकिस्तान विभाजिन भयो, बर्मा, श्रीलङ्का र बेलायती साम्राज्यवादका अन्य देशहरू पनि स्वतन्त्र हुँदै गए। त्यसको अर्थ हो – ती देशका शासक स्थानीय शासकहरूलाई छाड्दै गयो र आर्थिक र सांस्कृतिक रुपले बेलायती एकाधिकार पूँजीकै प्रभुत्व कायम रह्यो। त्यसलाई नयाँ उपनिवेशवाद भनिन्छ। भारतमा टाटा, बिड्ला र अन्य धेरै ठूल्ठूला पूँजीवादी कम्पनीहरूको पनि विकास भयो। ती भारतीय पूँजीपति कम्पनीहरूले आफ्नो देशमा मात्रै होइन छिमेकी देशहरू र टाढा–टाढाका देशहरूमा समेत (अर्थात् भारतीय एकाधिकार पूँजीले) आफ्नो बजार विकास गर्दै गयो। छिमेकी र टाढा–टाढाका देशहरूमा भारतीय एकाधिकार पूँजीले आफ्नो अनुकूलका सरकारहरूको स्थापना गर्न राजनैतिक दल, उद्योग–वाणिज्य, प्रशासन, नीति निर्माणको थलो, शिक्षा क्षेत्र, सामन्त र जमिनदार वर्गमा आफ्नो प्रभाव फैलाउन थाल्यो। नेपालको दरवार, राणाहरूका केही पक्ष, नेपाली काङ्ग्रेस र अन्य क्षेत्रमा भारतले आफ्नो प्रभाव जमाउन लाग्यो।
    आज नेपालका धेरै नदी–नाला जलविद्युत निर्माणको नाममा अनेक सन्धि–सम्झौतामार्फत भारतीय कम्पनीहरूको हातमा गयो। पेट्रोलियम पदार्थ, यातायातका मुख्य साधनहरू, हवाई सेवा, व्यापार, शिक्षा र दैनिक पत्रिपत्रिका र पर्यटन उद्योगसमेत भारतीय एकाधिकार पूँजीको प्रभावमा गयो। टनकपुर नहरको विरोध गर्ने शासक दलहरूले भारतसँग महाकाली सन्धि गरे। यसरी नेपाली काङ्ग्रेस, एमाले र एमाओवादीको सरकारसम्म पुग्दा माथिल्लो कर्णाली र अरुणसमेत लगानी बोर्ड बनाएर अब नेपालको प्राकृतिक स्रोत र साधनको सन्धि–सम्झौता पारित गर्न प्रतिनिधिसभाको दुईतिहाइ मतले पारित गर्नु पर्दैन बरु लगानी बोर्डले नै गर्नसक्ने भयो। यसरी भारत आफैले नेपालमा भारतीय सेनाले आक्रमण नगरी नेपालका सबै प्राकृतिक स्रोत र साधन आफ्नो पोल्टामा पार्‍यो। यसरी विस्तारै चारैतिर कनिका छरेर चरालाई जालमा पारेजस्तै नेपाललाई भारतीय जालमा पार्‍यो। यसैलाई 'ग्रायन्ड डिजाइन' भनिएको छ। २०–३० वर्ष लगाएर नेपालका शासक दल, आर्थिक र सांस्कृतिक क्षेत्र (शिक्षा–धर्म) लाई समेत चिनी छरेर आफ्नो नीतिलाई कार्यान्वयन गर्न भारत सफल भयो। मधेसवादी दलहरूमार्फत गराइएको भारतीय नाकाबन्दीको अर्थ हो – भारतीय एकाधिकार पूँजी र भारतीय विस्तारवादको धम्की !
    नेपाली काङ्ग्रेसको प्रधानमन्त्रीको उम्मेदवार सुशील कोइरालालाई मत दिलाउन आन्दोलनकारीहरूलाई मतदानमा पठायो तर एमाले र ओलीलाई आफ्नो जालमा पार्न नाकाबन्दीलाई छोडेन र मोदीको शुभकामना एक नयाँ चाल बन्यो।
प्रिय अमृत र अमृता,
    नेपालको कम्युनिष्ट आन्दोलनमा नेपाल र नेपाली जनताको मुख्य शत्रु 'राजा' हो वा 'भारतीय एकाधिकार पूँजी' हो भन्नेबारे ५०–६० वर्ष विवाद रह्यो। राजतन्त्र गयो, तर आज नेपाली जनताले थाहा पायो – राजाभन्दा ठूलो शक्ति भारतीय एकाधिकार पूँजीले सम्पूर्ण नेपाली जनताको घाँटीमा पासो कस्न सक्नेरहेछ। यसकारण आजको नेपालको निम्ति भारतको नेपाल नीति नबदलेसम्म नेपाली जनताको मुख्य शत्रु भारतीय एकाधिकार पूँजी हो भन्ने चर्चा चल्दैछ।
    तराईको अहिलेको आन्दोलन भारतीय एकाधिकार पूँजीकै निम्ति भारतीय विस्तारवादले आफ्नो एजेन्टहरूमार्फत गर्न दिएको नेपाल र नेपाली जनताविरोधी आर्थिक नाकाबन्दी हो। सीमामा धर्नामा बस्ने व्यक्तिहरूबारे जानकारहरू बताउँछन् – तिनीहरू तस्कर, अपराधी र कालाबजारीहरू तथा तिनीहरूका वकिलहरू हुन्। इराक र लिवियामा समेत अन्तरध्वंश गर्नेहरू अमेरिकी एजेन्टहरू थिए। तराईका अत्यन्त बहुमत जनता भारतीय एकाधिकारको पक्षमा छैनन्। तिनीहरू शोषणका विरोधी छन् र मोहियानी हक, जमिन जोत्नेको र रोजगार (काम) माम र कपडाको बन्दोबस्तको पक्षमा छन्।
नाति अमर र नातिना अमृता,
    आज नेपालका राजतन्त्रवादी र गणतन्त्रवादी भन्नेहरूको आँखा खुलेजस्तो छ– सबै एकै ठाउँमा पुगे। सबैलाई समयले ठाउँमा ल्याउनेछ।
    पत्र लामो भयो, अरु पछि ...।
माया गर्ने हजुरबुबा

दर्शक दीर्घाबाट
पूँजीवाद ठगहरूको शासन व्यवस्था
स्वर्गको सपना !
स्वर्गको सपना !
प्रहरीको पनि निष्कर्ष: खुला सिमानाकै कारण चेलीबेटी बेचविखन बढ्यो – २
प्रहरीको पनि निष्कर्ष: खुला सिमानाकै कारण चेलीबेटी बेचविखन बढ्यो – १
गृहमन्त्री प्रहरीको तथ्याङ्कलाई विश्वास गर्दैनन् ! – १
अन्तर्राष्ट्रिय महिला दिवस र राजनीतिक संस्कार – २
अन्तर्राष्ट्रिय महिला दिवस र राजनीतिक संस्कार – १




अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी