फिडेलको ८९ औं जन्मदिवसमा विचार गोष्ठी

 भक्तपुर। 'अध्ययन गर्नु महत्त्वपूर्ण कार्य हो तर अध्ययनबाट सिकेको ज्ञान जीवनमा लागू गर्नु झन् महत्त्वपूर्ण छ।'
    उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले क्युवाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोको ८९ औं जन्म दिवसको अवसरमा बिहीबार भक्तपुरमा आयोजित विचार गोष्ठीमा व्यक्त गर्नुभएको हो। 
    फिडेल क्यास्ट्रोको सम्पूर्ण जीवन नै क्रान्ति र जनताको सेवामा लगाउनुभएको चर्चा गर्दै उहाँले नयाँ पुस्तालाई क्यास्ट्रोको जीवनीबाट प्रशिक्षित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। 
    सच्चा क्रान्तिकारीले आफ्नो देशमा मात्र नभई विभिन्न देशमा गएर पनि काम गर्ने बताउँदै उहाँले युवा एक अन्तर्राष्ट्रवादी भावना व्यवहारमा लागू गर्ने देश भएको बताउनुभयो। 
    सानो देशमा पनि समाजवादी क्रान्ति हुनसक्छ र टिक्न सक्छ भन्ने उदाहरण क्युवा भएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेंले सानो देशको क्रान्तिकारी विचारले ठूलो देशमा क्रान्ति ल्याउन सक्छ भन्नुभयो। 
    गोष्ठीमा क्युवाली क्रान्तिका उपलब्धिबारे चर्चा गर्दै प्राध्यापक समाज नेपालका अध्यक्ष सरोजराज गोसाईंले क्युवाली क्रान्तिले क्युवाली जनताको शिक्षा, स्वास्थ्य र समान अधिकारको क्षेत्रमा अतुलनीय प्रगति उपलब्ध गराएको चर्चा गर्नुभयो। 
    आयोजक क्युवा ऐक्यबद्धता समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका सचिव नीरज लवजूले 'क्युवा–अमेरिका सम्बन्ध' बारे र सदस्य प्रकाश थुसाले 'क्युवा र फिडेलको जीवनी'बारे प्रस्तुतीकरण गर्नुभएको थियो। 
    कार्यक्रममा समितिका उपाध्यक्ष रवीन्द्र ज्याख्व, सदस्य रवीन्द्र फोंजू र अनिता प्रजापतिले पनि बोल्नुभएको थियो।      
    कार्यक्रमबाट क्युवाली क्रान्तिका नेता फिडेललाई बधाइ तथा शुभकामना सन्देश पारित गरी पठाइएको छ। 
    त्यस्तै क्युवाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोको ८९ औं जन्म दिवसको अवसरमा नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिद्वारा आयोजित 'क्युवाली समाजवाद र फिडेल क्यास्ट्रो' विषयक प्रवचन कार्यक्रममा उहाँले राजनीतिक दलहरूमा सिद्धान्तहीनता मौलाएको औंल्याउनुभयो। 
    कार्यक्रममा अध्यक्ष बिजुक्छेंले नेपालमा आफूलाई समाजवादी र कम्युनिष्ट पार्टी भन्नेहरू समाजवादउन्मुख संविधान बनाउन तयार नभएको बताउनुभयो।
    क्रान्तिका लागि क्रान्तिकारी विचार र साहस आवश्यक हुने चर्चा गर्दै उहाँले पूँजीवादको नाइके संरा अमेरिकी साम्राज्यवादको नाकैमुनि समाजवादी क्रान्ति गरेर फिडेल क्यास्ट्रो र क्युवाली जनताले अदम्य साहस र अडान प्रस्तुत गरेको बताउनुभयो। 
    नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष रमेश थापा श्रेष्ठले क्रान्ति गर्नुभन्दा क्रान्तिको उपलब्धि जोगाउन गार्‍हो हुने विश्व क्रान्तिकै अनुभव रहेको बताउँदै क्युवाली जनताले 'समाजवाद या मृत्यु' को नाराका साथ समाजवादको रक्षा गरिरहेका छन् भन्नुभयो। 
    क्युवा ऐक्यबद्धता समिति नेपालका संयोजक सुरेन्द्रराज गोसाईंले क्यास्ट्रो साम्राज्यवादीहरूबाट सबैभन्दा बढी विरोध गरिएका र हमला गरिएका व्यक्तित्त्व भएको बताउँदै क्युवाली क्रान्तिलाई विफल पार्न संरा अमेरिकी साम्राज्यवाद र प्रतिक्रियावादीहरूले ६ सयभन्दा बढी पटकसम्म फिडेलको हत्या दुष्प्रयास भएको उल्लेख गर्नुुभयो। 
    नेक्रायुसङ्घका केन्द्रीय सचिव प्रकाशले क्युवाली क्रान्तिले जनतालाई मात्र मुक्ति प्रदान गरेको नभई विश्वकै शोषित पीडित जनताको मुक्ति युद्धमा सहयोग, समर्थन र प्रेरणा मिलेको चर्चा गर्नुभयो। आयोजक समितिका अध्यक्ष मीनबहादुर बाटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका उपाध्यक्ष राजकुमार लघू र सचिव गणेश त्यातले पनि बोल्नुभएको थियो।

बाँकि प्रमुख समाचार


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी