विचार विश्लेषण

भक्तपुर मासिक –२०७२ असोजको नयाँ अङ्क पढ्दा


कृतिका
    भक्तपुर नगरपालिकाद्वारा प्रकाशित 'भक्तपुर' मासिक पत्रिकाको नयाँ अङ्क प्रकाशनमा आएको छ।
    भक्तपुर नगरपालिकाका पूर्वकार्यकारी अधिकृत राममणि भट्टराईको 'सार्वजनिक सेवाको गुणस्तर: कटु यथार्थ' लेखमा सरकारी पदमा बसेका कर्मचारीले उपलब्ध गराउने सेवालाई स्तरयुक्त बनाउन आवश्यक तत्त्वहरूको लिपिबद्ध गर्नुभएको छ। कर्मचारीहरूमा हुनुपर्ने प्राविधिक ज्ञान, कार्य तत्परता, संस्थागत भौतिक कमजोरी, सेवा प्रदायकको मनोबल, कार्य विवरण, ट्रेड युनियनहरू, अस्पष्ट नीति, स्पष्ट निर्देशिका, भ्रष्ट मानसिकता, आर्थिक हैसियत, समन्वयको कमी, अभिलेख व्यवस्थापन, तदर्थवादी प्रवृत्ति आदि कुराले सरकारी कामको गुणस्तर निर्धारण हुन सकेको खण्डमा सरकारले पुर्‍याउन खोजेको सेवा जनतासम्म गुणतस्तरीय तवरले पुग्नेमा विश्वस्त हुनुहुन्छ। सेवा प्रदायक संस्थामा कार्यरत सेवकले आफूलाई जनताको सेवकको रुपमा भित्री हृदयदेखि काम गरेमा मात्र सेवाको गुणस्तर राम्रो हुने उल्लेख गर्नुभएको छ। लेखमा हाम्रो सार्वजनिक प्रशासनको अवस्था र त्यसप्रतिको जनसाधारणको धारणाबारे प्रस्ट पार्नुभएको छ। 
    पाटनमा मनाइने मच्छिन्द्रनाथको जात्राबारे लेख्दै लेखक ओम धौभडेलले मच्छिन्द्रनाथको जात्रा र भक्तपुरबीचको सम्बन्धबारे प्रस्ट पार्नुभएको छ। मच्छिन्द्रनाथ नेपाल ल्याएको समयताका विशाल नेपालको राजधानी भक्तपुर भएको नाताले आजसम्म पनि जात्रा चलाउनुपूर्व भक्तपुरबाट खड्ग र पूजा पठाउनुपर्ने चलन बाँकी नै छ। मच्छिन्द्रनाथको जात्रा पाटनमा मनाइने भएर पनि भक्तपुरसँगको सम्बन्धले महत्त्वपूर्ण भूमिका निभाउँदै आएको छ। तोकिएको समयभित्र यदि पाटनले भोटो देखाउने जात्रा सम्पन्न गर्न नसके भक्तपुरले भोटो देखाउने प्रचलनलाई लेखकले यस लेखमार्फत प्रस्ट्याउनुभएको छ।
    'नेपालमा नृत्य तथा नाट्य परम्पराको इतिहास' लेखमा लेखिका सुलोचना छ्वाजूले नेपालमा नृत्य तथा नाट्य परम्परा ऐतिहासिककालदेखि नै चलिआएको तथ्यहरूबाट पुष्टि गर्नुभएको छ। नेपालको नृत्य तथा नाट्य परम्पराको इतिहास किरातकाल, लिच्छविकाल मध्यकाल हुँदै शाहकाल/राणाकालमा विभाजन गर्दै विस्तृत व्याख्या गर्नुभएको छ। गाईजात्राको समयमा टोलटोलमा प्रदर्शित नाच जस्तै भैरव नाच, देवी नाच, कंकाल नाच, ख्याक नाच,  जंगली नाच, कुकुर नाच, लाखे नाच, लुसी नाच, फाकंदली नाच आदि प्रदर्शित हुनुमा प्राचीनकालदेखि सुरु भएका नाट्य कलाहरूले वर्तमान समयमा निरन्तरता पाएको पुष्टि गर्दछ। लोपोन्मुख अवस्थामा रहेका परम्परागत नाचगानको संरक्षण र सम्बर्द्धनमा उहाँको लेखले सम्बन्धित क्षेत्रको ध्यान आकर्षित गर्नेछ।
    पत्रिकाको अर्को समय–सान्दर्भिक लेख जोरालद्वारा लिखित 'नेपाल–चीनबीचको प्राचीन सम्बन्ध र घनिष्ट मित्रता' हो। नेपाल र चीनबीचको  सम्बन्ध शताब्दीयौं पुरानो भए तापनि आधुनिक राजनीतिक प्रणालीको विकासपछि नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगिसकेको छ। यो सम्बन्ध पञ्चशीलको पाँच सिद्धान्तमा आधारित छ र ६० वर्ष पहिले स्थापना भएको कूटनीतिक सम्बन्ध आज मित्रता, भ्रातृत्व, सद्भाव र सहयोगले झाङ्गिएको छ। चीनले सांस्कृतिक, आर्थिक, राजनीतिक, शैक्षिक र जनस्तरको सम्बन्धले असल छिमेकीको भूमिका निभाउँदै आएको छ। नेपाल–चीनबीच औपचारिक कूटनीतिक सम्बन्धको ६० औं वर्षगाँठ मनाइरहेको बेला नेपालको अर्को छिमेकी भारतको नेपालप्रतिको व्यवहार भने मित्रवत नभएको लेखकको ठहर छ। महाभूकम्पले थलिएको देश नेपाललाई भारतले अघोषित रुपमा लगाएको 'नाकाबन्दी' एउटा असल छिमेकीको अशोभनीय कार्य पुष्टि हुन्छ।
    साथै केशवलाल कर्माचार्यको 'महिला–संघया आमसभा र राज्यलक्ष्मी खर्बुजाको 'बृहत् राहत प्याकेज' कथा, सङ्ग्रहणीय छ। समय–सान्दर्भिक लेख तथा इतिहासका महत्त्वपूर्ण जानकारी पाउन उपयुक्त 'भक्तपुर' मासिकका प्रकाशकलाई साधुवाद !

बाँकि विचार विश्लेषण


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी